दफा ६८
विदेशी स्थायी संस्थापनहरु
(१) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनका अन्य व्यवस्थाहरुको अधीनमा रही गैरबासिन्दा व्यक्तिको नेपालस्थित कुनै विदेशी स्थायी संस्थापनको आयमा लाग्ने कर दाखिला गर्ने जिम्मेवारी सोही संस्थापनको हुनेछ ।

(२) विदेशी स्थायी संस्थापनको आयबाट दफा ६९ बमोजिम सो संस्थापनको स्वामित्व भएको व्यक्तिको आय छुट्याउनु पर्नेछ ।

(३) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा दफा ३ को खण्ड (ख) मा उल्लेख भए बमोजिमको स्थायी संस्थापन उपर-कर लाग्नेछ ।

(४) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय सो विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ ।